कहीं नपुगेका यात्रीहरु - भूपिन ब्याकुल's image
Nepali Poetry2 min read

कहीं नपुगेका यात्रीहरु - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 164 Reads0 Likes

फ्रेस हाउसमा काटिनका लागि

पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि

म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !

बसले उडाउदै गएको धुलोको गुम्बज पछिपछि

टायर गुडाउदै हिंडिरहेको त्यो बालक

भग्नावशेष पुलमुनी पुगेर

किन रोकिन्छ ब्रेक लागेको बसझैं घच्याक्क

म सिर्फ सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !

कवि लालबहादुर परियारले

खोलाको बगरमा

कसरि कटाए त्यो दिन रुँदैरुँदै

पटपटी फुटिरहेका टाउकाहरुबीच बसेर

कसरी गाडिन् मेघिया थरुनीले

मरेका बच्चाहरुलाई

जीवनमा सबैभन्दा बढी निर्मम भएर

रोकिन चाहेर पनि

कसरि बगिरह्यो बाँदरमुडे खोला दुख्दैदुख्दै उँधोतिर !

म सम्झन्छु –

सिर्फ सम्झन्छु – कहीं हिंडेका बसका यात्रीहरु !

खल्तीमा हात घुसारेर

ओहोरदोहोर गरिरहेछन – मानिसका लस्करहरु

चुरोटको धुवाँ फ्याक्दै

चुपचाप-चुपचाप पारि तर्दै छन् बूढाबूढीहरु

ओ अन्तिम यात्राका अभागी यात्रीहरु

दुई बर्खापछि

मैले फेरी झल्झली सम्झिरेहेछु – तिमीलाई

सम्झिरहेछु पापी एम्बुस

र त्यो दिन

जुन दिन मा रोएको थिएँ – गाउँको कोठामा

देखेर टीभीमा तिमीहरुको विभत्स मृत्यु !

फ्रेस हाउसमा काटिनका लागि

पालो पर्खेर बसिरहेका कुखुराहरु देखेपछि

म सम्झन्छु – कहीं हिंडिरहेका बसका यात्रीहरु !

जो कहीं पनि पुगेनन !

No posts

Comments

No posts

No posts

No posts

No posts