दिवङ्गत कविको नाममा - भूपिन ब्याकुल's image
Nepali Poetry2 min read

दिवङ्गत कविको नाममा - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 724 Reads0 Likes

पुरै जीवनभरी अर्थ लगाउन पुग्नेगरी

मेरो हातमा एउटा कविता थमाएर

लापत्ता भएको छ मेरो प्रिय कवि

हराउनुअघि

मेरो छेउमा गाइरह्यो उसले

अभावका अन्तिम अन्तराहरु

हराएपछि

अन्जुलीमा थमाइदिएको छ जीवनको कविता

जसलाई मैले अर्थहरूको समुद्रमा

पारि तार्नु छ … … …

तुलसीको मठनेर

उसले पोतेर गएको छ एउटा एब्सट्रयाक्ट पेंटिंग

जसलाई बुझ्नु छ

बेडरुमको कुनामा

छाडेर गएको छ एउटा दुब्लो बाँसुरी आँफूजस्तो

त्यसमा जीवनको धून भर्नु छ

कला लेख्न र पोत्नुमा के महानता छ र ?

जीवनको सर्वाङ्ग क्षितिज खुल्छ

कला बाँच्नुमा

कवि कला बाँचेर गएको छ

र जानुअघि

एउटा अराजक पाठकको हातमा

जीवनको कविता खसालेर गएको छ

इश्वोर सेरिएर आत्महत्या गरेको

एउटा त्रासद मस्तिष्कमा

मन्दिरको काव्य छापेर गएको छ

सके

त्यही कबिताको सिमान्त अर्थ पहिल्याएर

नसके

अर्थहरूको सीमानामा

नक्सा हराएको कुनै पर्यटकझैँ अल्मलिएर

जीवनको अन्तिम छेउसम्म पुग्नु छ

र रोइरहेको छोराको हातमा

हाँस्दाहाँस्दै त्यही / त्यस्तै कविता थमाएर

एकदिन

यस धर्तीबाट

म पनि मेरो बाबाझैँ लापत्ता हुनु छ !

No posts

Comments

No posts

No posts

No posts

No posts