
अँध्यारो सडकमा
उल्टो पाइला हिंडिरहेका मानिसहरुको
जुलुस निस्किएको छ
सडकमा
अगाडिपट्टी टाउको फर्काएर
पछाडितिर हिँडिरहेका छन् मानिसहरु
सडकमा
सुल्टो हात हल्लाएर
उल्टो दिशामा हिंडिरहेका छन् मानिसहरु
जुलुसको
गति उल्टो छ
यात्रा उल्टो छ
गन्तब्य उल्टो छ
तर हिंडी नै रहेका छन् मानिसहरु सडकमा
मानौ इतिहासको
यहि नै पहिलो जुलुस हो
सुल्टो हिंडिरहेका मानिसहरुको
मेरै अघिल्तिर
मुहान भत्काएर
मुहानतिरै फर्किएको कुलाको पानीझैं
बगिरहेछ जुलुस सडकमा
लाग्छ –
जुलुससँग नयाँ खुट्टाहरुपनि छन्
जुलुससँग नयाँ सपनाहरु छन्
र प्रयोगको लागि
यो जुलुस आयोजित छ
मानिसहरुका नाडीमा
भर्खरै बजारमा आएको
नयाँ घडी छ
र त्यो फन्फनी उल्टो घुमिरहेको छ
जमिनतिर झुकाइएका
फरकफरक देशक
रङ्गीविरङ्गी राष्ट्रिय झण्डाहरु छन्
र अँध्यारोमा बाटो देखाउन
तिनीहरु ह्वारह्वार्ती बलिरहेका छन्
झन्डा सल्काएर
मनाइरहेछन् उनीहरु सडकमा
राष्ट्रिय शोकदिवसहरु
सास फेरिरहेको पृथ्वी कात्रोमा बेरेर
मलामी हिंडिरहेका छन् मानिसहरु
सिङ्गै पृथ्वीजत्रो अनन्त अंध्यारोमा
कोहि उल्टो सङ्ख फुकिरहेका छन्
कोहि कुरूप इश्वरको नाममा
सपथ खाइरहेका छन्
मनाही छ यो सडकमा
कसैले यहाँ जीवनको गीत गाउन पाउँदैन
कसैले यहाँ मान्छेलाई माया गर्न पाउँदैन
निषेधित छ यो सडकमा
कोही यहाँ सुल्टो हिड्न पाउँदैन
अँध्यारो सडकमा
उल्टो पाइला हिंडिरहेका मानिसहरुको
जुलुस निस्किएको छ !
No posts
No posts
No posts
No posts
Comments