समय-नासिया - भुपिन ब्याकुल's image
Nepali Poetry2 min read

समय-नासिया - भुपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 101 Reads0 Likes

आधी जून मन पराउने अहुनार सम्झिन्छु

कर्कलाको पातबाट चिप्लिएको पानीको थोपाजस्तै

पुरै रात चिप्लिएर जान्छ

र नयाँ बिहान

गहिरो निद्राबाट ब्युँझन्छ

मा बिर्सन्छु समय !

पढिरहेको हुन्छु कुनै किताब

जीवनलाई छोएर बगेको, कुनै नदीजस्तो

या सुनिरहेको हुन्छु कुनै सङ्गीत

बलेंसीमा तप्किरहेको पानीको मिठो आवाजजस्तो

या आँफै संग लाज लागेर

अब कहिल्यै दुख्दिनँ भन्ने झुटा कसम खाइरेहेको हुन्छु

मलाई ख्याल हुदैन समयको …. !

गुम्बामा पर्खिबस्छु

कहिल्यै बत्ति बाल्न नआउने उसलाई

कसैले बालेर गएका बत्तिहरु निभ्छन्

कसैले अर्को बत्ति जलाएर जान्छ

गीत सकिएपछि

क्रमशः बिलाउँदै गएको सङ्गीतको धूनझैं

मेरो आफ्नै धून निभ्दै जान्छ मभित्र

आह !

सालिकझैं टक्क अडिएर समय

मेरो जीवनको चोकमा उभिन्छ

गुम्बामा बत्तिहरु जलिरहन्छन्

गुम्बामा बत्तिहरु निभिरहन्छन्

अँह कदापि जलाउन चाहन्नँ म

निभेको बत्तिजस्तो समय !

यो कस्तो चरम आनन्द ?

आफ्नै जीवनको साँघुरो आँगनमा

सहिद भएको समयको लास हेरिरहेको छु

मानौं मलाई जीवनभरी

समय-नासिया भएको छ

र मानौं मैले

समयलाई चिन्न अस्वीकार गरिदिएको छु

जसरि प्रत्येक जुनेली रातहरुमा

जूनले मलाई चिन्न अस्वीकार गर्छ !

No posts

Comments

No posts

No posts

No posts

No posts