शब्दकोश - भूपिन ब्याकुल's image
Nepali Poetry2 min read

शब्दकोश - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 357 Reads0 Likes

मृत्युले कला भरेको तुइनमा अल्झिएर

कर्णाली पारि पुगेपछि

सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले

कर्णालीमा शब्दकोश

केहि पानाहरु खाली छोडेर

प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ

जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै

छुटेको छ कर्णालीको नाम

अथवा कर्णाली

त्यही वियोगीकविजस्तो लाग्छ

जसले आफ्नै आँखाअगाडी

कविताले आत्महत्या गरेको देखेको छ

अथवा त्यो समयजस्तो लाग्छ

जसले देशलाई अश्लील गालि गरिरहेछ !

यो शब्दकोश

जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्

यो शब्दकोश

जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्

कसरी थाह पाउँछ

कि कर्णाली

कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?

कसरी ज्यान दाउमा राखेर

विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?

कति लामो लाइन लाग्छ खाद्य डिपोमा

सात किलो चामल वा एक पोका नुनका लागि ?

कसरी दशैं मनाउँछ

रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?

यो शब्दकोश

जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !

निश्चित छ

शब्दकोशको कुटिल सम्पादक

उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन

अझैसम्म लागिरहेकै छ उसलाई

कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको

र उसको सफलता

केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !

कर्णाली

के तिमी चाहन्नौ

कि तिमीले गाइरहेको दुक्खको गीत

पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्

र अब त्यस्तो शब्दकोश लेखियोस

जहाँ तिमीले

जीवनका किनाराहरुमा

भोकका लहरहरु लेख्नुनपरोस

अभावका लहरहरु लेख्नुनपरोस

No posts

Comments

No posts

No posts

No posts

No posts