कम्प्युटरमा ईश्वर - भूपिन ब्याकुल's image
Nepali Poetry1 min read

कम्प्युटरमा ईश्वर - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 50 Reads0 Likes

कम्प्युटरमा

नभएको स्वर्गबाट

देवीले पठाएको इ-मेल पढिरहेका छन् –

ईश्वरहरु !

इन्टरनेटमा

देवीहरुसंग

कामुक लयमा

साइबर सेक्सका कुराहरु गरिरहेका छन् –

ईश्वरहरु !

ईश्वरहरुका हातमा

माउस रिंगिरहेको छ

या रिमोट कन्ट्रोल

या बन्दुक नाचिरहेको छ !

डिजिटल कोठाभित्र

आधुनिक द्रौपदीसरुसँग

ब्लु-फिल्म हेरिरहेका छन् –

ईश्वरहरु !

आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ –

ईश्वरहरुको !

सभ्यताप्रति

अपार स्नेह र अपरिमित लालच छ –

ईश्वरहरुको

तर पनि अझै

आधुनिक हुन सकिरहेका छैनन्

स्वर्गको आदिम जङ्गलबाट

बाहिर निस्कन सकिरहेका छैनन्

नीतिशास्त्रको पुस्तकमा जमेको

शताब्दियौं पुरानो धुलो

अझै पनि पुछ्न सकिरहेका छैनन् –

ईश्वरहरु !

कम्प्युटरमा

नभएको स्वर्गबाट

देवीले पठाएको इ-मेल पढिरहेका छन् –

ईश्वरहरु !

No posts

Comments

No posts

No posts

No posts

No posts