आत्महत्या - भूपिन ब्याकुल's image
Nepali Poetry3 min read

आत्महत्या - भूपिन ब्याकुल

Bhupin ByakulBhupin Byakul June 16, 2020
Share0 Bookmarks 348 Reads0 Likes

मानेको हो –

जीवन: सिर्फ शृंखलाबद्ध मृत्युदण्ड

मानेको हो –

जीवन: सिर्फ फिचर प्लान्ट

र हामी वासनाले मूर्छित कीटपतंग

जीवन

बत्तिको कुरूप उज्यालोमुनि

आत्मदाहको गीत गाइरहेको पुतली

सिल्भिया प्ल्याथ

स्वीकारेको हो मैले पनि

मृत्यु एउटा कला हो

जीवनको कुरुप्तदेखी लगलग काँपेर

खिया लागेको पत्तीले औंला चिर्दै

लेखेको हो प्रेमपत्र

मृत्युको नाममा

लागेको हो-

जीवन: अप्रिय लेखकको एब्सर्ड फेन्टासी

जीवन: सिर्फ युटोपिया

अर्को एक शताब्दी नखुल्ने

रोगी कानुनको ढोका नजिक रुंघेर

देखेको हो एक युग लामो सपना

युथेनिसियाको

पशुपंक्षीहरु आत्महत्या गर्दैनन

बुद्धि भएकाले

मानीसले गर्छ आत्महत्या

धेरैपटक सोचेको हो

र, त्यागेको हो विचार

एक्लैएक्लै

र खाली एक्लै हिंडेको हो

इश्वरजस्तो गरुङ्गो

ज्यानमारा फाइल बोकेर झोलामा

हिंडेको हो कहीं पुग्न

अन्तिम यात्रामा

सबैभन्दा सशक्त उत्तरआधुनिक विकल्प

लागेको हो – आत्महत्या

रुझेको हो निथ्रुक्कै मृत्युको झरिले र

निचोर्दैनिचोर्दै रुमाल बाटोमा

आएको हो – यहाँसम्म

यात्रा दुई

स्वाभाबिक दुर्घटनाका असंख्य मोडहरुमा जोगिएर

यहीं आएपछि

किन लाग्दैछ जीवन यती सुन्दर र आकर्षक ?

किन लाग्दैछ गन्ध जीवनको

यती मोहक र यती मादक ?

किन लाग्दैछन यती प्रिय

दु:ख, यातना र घृणाहरु … …

नग्नता, क्रुरता र कुरुपताहरु … …

यहीं आएपछी

किन लाग्दछ यती सुन्दर

यो छद्म सपनाहरुको बिरामी पहाड

जहाँ कटिएका रहरहरुको

चङ्गा उड्छ र चुंडिन्छ

यो पैह्रो जाने आकाश

जहाँ आशाको नयाँ घाम उदाउंछ र अस्ताउंछ

यो अराजक समुद्र

जहाँ प्रेमका छालहरु बग्छन र थामिन्छन

मृत्यु

बैंशको रङ नउडेको छातीभरी

मैंले सुरक्षित बोकेर हिंडेको हुँ तिमीलाई

हिंडिरहेकै छु

र हिंड्दाहिंड्दै पत्तै नपाई

म जीवनको नयाँ दुर्व्यसनी भएको छु !

म जीवनको नयाँ अंम्मली भएको छु !

No posts

Comments

No posts

No posts

No posts

No posts